ताजा समाचार
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? | जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ | पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ | सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता | पहिराले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो | गाेरखामा अविरल वर्षा : सदरमुकामकाे १ घर पूर्ण रुपमा क्षती | सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह | परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो त्रिविको प्रश्नपत्र | लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा | यस्तो छ माइतीघर डुबानको कारण | एमबिएसको प्रश्नपत्र लिक प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे | प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल | कुन आयोजनामा कति बजेट खन्यायो सरकारले ? | कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ? | यी वस्तुमा बढ्यो अन्तःशुल्क |
राजनीति | 2026 Feb 24

नेताहरूको ‘रिटर्न वेभ’ले कांग्रेसमा उत्साह, मधेशदेखि केन्द्रसम्म राजनीतिक माहौल फेरिँदै

The Gorkhali Times

नेताहरूको ‘रिटर्न वेभ’ले कांग्रेसमा उत्साह, मधेशदेखि केन्द्रसम्म राजनीतिक माहौल फेरिँदै
नेताहरूको ‘रिटर्न वेभ’ले कांग्रेसमा उत्साह, मधेशदेखि केन्द्रसम्म राजनीतिक माहौल फेरिँदै

६ फागुनमा कांग्रेस प्रवेश गर्दै गर्दा रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन् । जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञासभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरेका थिए । 

‘रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएकाले मैले उक्त पार्टी परित्याग गरी जेन–जीको भावना बोक्ने र सुशासनको काममा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ,’ उनले भनेकी थिइन् । 

रास्वपालाई मधेश प्रदेशमा विस्तार गर्नुअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा सक्रिय थिइन् । वैकल्पिक राजनीतिबाट मूलधारका राजनीतिक पार्टीमा यात्रा गर्दै उनी पुरानो पार्टी कांग्रेसमा आइपुगेकी छन् । 

शर्माले अहिलेको गगन नेतृत्वको कांग्रेस नयाँ रास्वपा भएको तर वैकल्पिक भनिएका रास्वपा भने पुरानो कांग्रेसको शैलीमा गएको टिप्पणी गरेकी थिइन् । ‘अहिले कांग्रेस गगन दाइको नेतृत्वमा बदलिएर नयाँ रास्वपाजस्तो बनेको छ । तर, आफूलाई वैकल्पिक भनिएका रास्वपाका नेताहरू दागैदाग भएका, आर्थिक चलखेलमा मुछिएका, मुद्दैमुद्दामा लागेका छन् । सब पुराना कांग्रेसजस्ता छन्,’ उनले पूर्वपार्टीलाई आरोप लगाइन् । सभामा एक्लै कांग्रेस प्रवेश गरेकी शर्माले बारा र पर्सामा २ सय हाराहारीमा अन्य पार्टीका कार्यकर्तालाई कांग्रेस प्रवेश गराएकी छन् । 

त्यस्तै, मधेशभरमा कांग्रेस रक्षात्मक अवस्थाबाट निस्किएर अहिले फिल्डमा माहौल बनाउने अवस्थामा पुगेको कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव बताउँछन् । ‘उहाँ (ममता) रास्वपाको मधेश प्रदेशको संस्थापक नै हुनुहुन्थ्यो । उहाँ कांग्रेसमा आएपछि रास्वपा बाहिर कार्यक्रम गरेर हिँड्नै नसक्ने अवस्थामा पुग्यो । हामीचाहिँ चुनावको माहौल लिएर मैदानमा छौँ,’ उनले शिलापत्रसँग भने  । 

रास्वपा मकवानपुर सभापति भरत पराजुली नेपाली कांग्रेस प्रवेश गरे । उनी ११ फागुनमा कांग्रेस प्रवेश गर्न सार्लाही पुगेका थिए । उनले पार्टीभित्र देखिएका प्रवृत्तिलाई दोष दिएका छन् र सोही कारण आफू रास्वपा बस्न नसकेको जनाएका छन् । 

पार्टीमा चारीवाद मौलाएको आलोचनालाई स्वीकार गर्ने काम नभएकोमा असन्तुष्टि जनाएका थिए । ‘समयक्रममा पार्टीभित्र देखिएको प्रवृत्तिले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो । हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौँ, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो,’ पराजुलीले भने, ‘सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो ।’ 

मनहरी गाउँपालिका घर भएका पराजुली १५ महिनाअघि  (६ मंसिर २०८१) भएको पार्टीको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा पुनः सभापति चयन भएका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनी १२ हजार ३९ मतसहित तेस्रो भएका थिए । यस क्षेत्रबाट नेकपा एमालेका महेश बर्तौला ३४ हजार ९ सय १६ मत ल्याउँदै विजयी हुँदा तत्कालीन नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले ३० हजार ३ सय ९६ मत पाएका थिए । 

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती पराजुलीको प्रवेशले रास्वपामा देशव्यापी देखिएको ह्वीम मकवानपुरमा कम भएको बताउँछन् । ‘देशभर रास्वपाका ह्वीम हाइरहँदा मकवानपुर सभापति नै कांग्रेस फर्किएपछि त्यसको प्रभाव परिहाल्छ । अहिले रास्वपाका कार्यकर्ता पनि कांग्रेस प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । कुरा भइरहेको छ । कार्यकर्ताहरू पनि कांग्रेस फर्कने तयारी भइरहेको छ,’ कालाखेतीले शिलापत्रसँग भने । रास्वपा प्रवेश गर्नुअघि पराजुली कांग्रेसको महासमिति सदस्य रहेका थिए । 

गत १९ माघमा रास्वपा जुम्लाकी उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् । चन्दननाथ नगरपालिका– ५ की बासिन्दासमेत रहेकी शाहीलाई पार्टीमा कांग्रेस केन्द्रीय सदस्य रामदेवी खड्काले स्वागत गरेकी थिइन् । शाही कांग्रेस छोडेर रास्वपा गएर उपसभापति बनेकी थिइन् र विशेष महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएको अवस्थामा शाही कांग्रेस फर्किएकी हुन् । 

महिला संघको जिल्ला सचिव रहेकी तारा कांग्रेसमा फर्किएपछि कांग्रेसको बिग्रँदो माहौललाई फर्काइएको चन्दनाथ नगरपालिका समिति सभापति रवि थापा बताउँछन् । ‘जुम्लामा नयाँ भनिएकाहरूको प्रभाव कम नै छ । त्यसमा पनि बन्दै गएको माहौल बिगार्न र कांग्रेसको माहौललाई यथावत् राख्न ताराजीहरूजस्ता पुराना मान्छे फर्किएका छन् । यसले जिल्लामा कांग्रेसको माहौल बनाएको छ,’ उनले शिलापत्रसँग भने । 

रास्वपा काठमाडौंका नेता तथा रास्वपा सभापति रवि लामिछानेनिकटका डा. प्रणयशमशेर राणाले पार्टीमा बेथिति भित्रिएको भन्दै रास्वपा परित्याग गरेका थिए । ‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउँदछु,’ उनले राजीनामापत्रमा भनेका थिए । ७ फागुनमा कांग्रेसमा फर्किएका उनलाई सभापति थापाले स्वागत गरेका थिए । कांग्रेको १४औँ महाधिवेशन प्रतिनिधि थिए राणा । 

त्यस्तै, संस्थापक सदस्य तथा नेता खेमकुमारी भुर्तेल (उर्मिला)ले पार्टीको साधारण सदस्यबाट राजीनामा दिँदा पार्टीमा विधि र विधानविपरीतका क्रियाकलापले बढावा पाएको कुराको साक्षी बस्न नसक्ने बताएकी छिन् । उनले २०७९ सालको चुनावमा महोत्तरी ४ बाट रास्वपा उम्मेदवार थिइन् । अहिलेको चुनावमा भने उनी काठमाडौं– ५ बाट उम्मेदवार बन्ने आकांक्षा राखेकी थिइन् । 

‘म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेश प्रदेशको एक्लो महिला उम्मेदवार आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति नि:स्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु,’ भुर्तेलले भनिन्, ‘राजनीतिमा युवापुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ । तर, पार्टी विधि विधानविपरीत चाप्लुसीवाद र आर्थिकवादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखेको, जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न २१ फागुनको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत भएको अनुभव गरेकी छु ।’ 

रास्वपा बागमतीका उपसभापति दिनेश हुमागाईंले पनि पार्टीको नीति, नेतृत्व र उम्मेदवार चयनमा प्रश्न उठाउँदै रास्वपा परित्याग गरेका छन् । उनले मोबाइल पसलमा काम गर्ने, गीत गाउने र अभियन्ता बनेका चटकेलाई स्वार्थमा उम्मेदवार बनाएको, चाकडी गर्ने, खुसी पार्ने, वरिपरि घुम्ने ‘गणेश प्रवृत्ति’लाई प्रवेश दिएको, प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार चयनमा चरम चलखेल भएको आरोप लगाएका छन् । 

अपारदर्शी नेतृत्व, पार्टी संरचना सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित भएको, सदस्यता र उम्मेदवार शुल्क उठाएर पारदर्शी हिसाब नदिएको, सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरण, प्रधानमन्त्रीमा प्रस्तावित बालेन शाहमाथि नागरिकता किर्तेको आरोपले नेतृत्वमा नैतिक प्रश्न उठेको विषय उठाउँदै उनले राजीनामा दिएका हुन् । हुमागाईंले २०७९ सालको निर्वाचनमा काभ्रे २ मा रास्वपाबाट १० हजार ५७३ मत ल्याएका थिए । 

नेपाली राजनीतिमा कम्युनिस्ट पार्टीका विकल्प छन् । किनकि एकै प्रकृतिका कम्युनिस्ट पार्टीहरू धेरै छन् । मूलधारमा पनि एमालेको विकल्प नेपाली कम्युनिस्ट पार्टी छ । तर, कांग्रेसको विकल्पमा लोकतान्त्रिक धारका पार्टी थिए । एक समय विवेकशील साझा पार्टीलाई कांग्रेसको विकल्पको रूपमा हेरिन्थ्यो । सो पार्टी रास्वपामा विलय भयो । रास्वपाको उदयसँगै राजनीतिक संस्कारमा कांग्रेसको पृष्ठभूमिका स्वर्णिम वाग्ले र मनिस झाजस्ता नेताहरू रास्वपामा स्थापित भएपछि रास्वपालाई भाइ कांग्रेसको रूपमा हेरिएको थियो । 

अहिले विशेष महाधिवेशन गरेर कांग्रेसले नेतृत्व परिवर्तन गरेको छ । कतिपय नेताहरू भने नि:शर्त पुरानो पार्टीमा फर्किएका छन् । कांग्रेसका प्रवक्ता देवराज चालिसे कांग्रेसले व्यक्ति मात्र नभएर मन पनि फर्काउन खोजेको बताउँछन् । ‘विकल्प त कांग्रेस आफैँ भयो । हामीले मन पनि फर्काउन खोजेका हौँ । कांग्रेस सबैभन्दा नयाँ हो । बीपी कोइरालाको स्पिरिटसँग जोडिएको कांग्रेस भएको छ,’ उनले शिलापत्रसँग भने, ‘जसले अगाडिको यात्रालाई सुनिश्चित गर्छ, त्यो नयाँ हो । मोबाइलको नाम होइन, भर्सन फेरिएजस्तै कांग्रेसको भर्सन फेरिएको छ ।’ रास्वपाको वैचारिक धार स्पष्ट नभएको उनको भनाइ छ । 

‘बलिदानको जगमा उभिएको पार्टी नयाँ पुस्ताको प्रतिनिधित्वलाई प्रतिनिधित्व गर्दै वर्षौंपछिको खाकालाई बुझ्न सक्ने नेतृत्व कांग्रेससँग छ । त्यसैले यो पुरानो ब्रान्डको पछिल्लो भर्सन हो,’ चालिसेले भने । 

पुराना पार्टी खराब भएर छोड्ने र फेरि फर्कनु नेपालको राजनीतिक संस्कार र प्रवृत्ति रहेको राजनीतिक विश्लेषक डा. सञ्जीव हुमागाईं बताउँछन् । ‘हामी एकैपटक प्रतिफल खोज्छौँ तर हाम्रो अवस्थाले दिँदैन । त्यसैले पुराना बेठीक, नयाँ ठीक वा नयाँ बेठीक, पुराना राजनीतिक दल ठीक भन्ने कुरा हाम्रो राजनीतिक संस्कार र प्रवृत्तिसँग जोडिएको विषय हो,’ उनले शिलापत्रसँग भने । 

कांग्रेसले आफूलाई ‘कांग्रेस २.०’ भएको दाबी गरेको छ । अहिलेको डिजिटल युग र युवापुस्ताको चाहनाअनुसारको परिवर्तन भएको प्रवक्ता चालिसे बताउँछन् ।

पछिल्लो समय नयाँ पुस्तामा देखिएको राजनीतिक वितृष्णा, जेन–जी आन्दोलनमार्फत सडकमा देखिएको आक्रोश र नयाँ शक्तिहरूको उदयलाई मध्यनजर गर्दै कांग्रेसले आफूलाई परम्परागत दलबाट आधुनिक र गतिशील दलको रूपमा रूपान्तरित गर्ने कदम चालेको उनले बताए । 

पार्टीले इतिहासको सम्मान गर्छ, तर यसको ध्यान अब हिजो के गर्‍यौँ भन्दा पनि ‘भोलि के गर्छौं भन्नेमा केन्द्रित रहेको सभापति थापा बताउँछन् । गत २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा सामाजिक सञ्जाल र सडकमा देखिएको यो आक्रोशलाई सम्बोधन गर्न कांग्रेसले आफूलाई अपडेट गरेको दाबी कांग्रेस नेताहरूको छ । ‘हामीले विगतका गौरवगाथा गाएर मात्र अब पुग्दैन । इतिहासको ब्याज खाएर बस्ने छुट हामीलाई छैन । त्यसैले हामीले कांग्रेसको संस्करण बदल्ने निर्णय गर्‍यौँ,’ कांग्रेस सभापति थापाले भनेका छन् । 

Latest News

देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ? राजनीति
देउवाको कडा चुनौती मलाई राजा ज्ञानेन्द्रले सकेन, तिमीहरुले सक्छौं ?

पाँच महिनापछि उपचार गरेर स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्र...

2026 Aug 13 The Gorkhali Times
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ समाचार
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई ब...

2026 Aug 12 The Gorkhali Times
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्षस हाे’ समाचार
पत्रकार श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट, भनिन्-‘पत्रकारको भेषमा राक्...

 प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गद...

2026 Aug 12 The Gorkhali Times
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि बुढीगण्डकीमाथि बेवास्ता समाचार
सुदन गुरूङ गृहमन्त्री र पैत्रृक थलो गोरखै भएका डा. वाग्ले अर्थमन्त्री हुँदा पनि...

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना निर्माणमा सरकारले देखाएको उदासीनता र...

2026 Aug 12 The Gorkhali Times